
काठमाडौं— भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्।
आइतबार बिहान सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त सूचना अधिकारी टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए।
प्रहरी निरीक्षक शर्माका अनुसार तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा बिहान पौने २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको छ।
टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सञ्जीव थापामगर घाइते छन्। उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ।
प्रहरीले टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका वडा नं ६ बस्ने वर्ष २८ को राजकुमार राईलाई नियन्त्रणमा लिएको छ।













