
चितवन— केराबारीमा देखिएको आकृति त्रिशूलीमा बेपत्ता बस नभएको पुष्टि भएको छ।
शनिबार साँझ भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
तर सुरक्षाकर्मी र गोताखोरको टोली पुगेर हेर्दा बस नभएको पुष्टि भएको हो। त्रिशूलीकोबीच भागमा देखिएको बस्तु बस नभएको प्रहरीले जानकारी दिएको छ।
बागमती प्रदेश प्रमुख डीआईजी विष्णु केसीले भने, ‘स्थानीयले बस हुनसक्ने भनेर खबर गरेका थिए तर, त्यो पुष्टि भएन।’
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन्। बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ।
काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बेपत्ता भएका हुन्।













