News Griha :: न्यूजगृह
चार दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध
फाइल तस्बिर।

बागलुङ— राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ।

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ। पटकपटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो।

सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ। सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो। वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले सडक खुल्न समय लाग्ने भएको छ। उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ।

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट बिच्छेद भएपछि यात्रुहरु पैदल हिँडेर आउ जाउँ गर्न बाध्य भएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:४४
Weather Update