News Griha :: न्यूजगृह
बिरामीको मृत्युपछि धनगढीको नोभा हस्पिटलमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास 

कैलाली— धनगढीको नोभा अस्पतालमा तनाव भएको छ।

सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले अस्पताल बाहिर भेला भएको समूहले ढुङ्गामुढा गर्न थालेपछी स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए।

उनका अनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ। जन्डिसको समस्या लिएर साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो। दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको हो।

आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन्।

अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १३:०२
Weather Update