News Griha :: न्यूजगृह
काभ्रेमा ६५ वर्षका वृद्धलाई टिपरले ठक्कर दियो

काभ्रे— धुलिखेलमा टिपरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

गएराति करिब १० बजे धुलिखेल नगरपालिका ३ बाँसघारीस्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–९००४क०१३० नम्बरको मिनि टिपरले ठक्कर दिँदा ती वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो।पैदल यात्रीको वतन नखुले पनि मृतकको गोजीमा फेला परेको स्वास्थ्य सेवा कार्डमा ६५ वर्ष उमेर र लालबहादुर तामाङ नाम उल्लेख भएको पाइएको छ। 

सडक छेउमा पैदल हिँडिरहेको बेला उनलाई टिपरले ठक्कर दिँदा टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। त्यसपछि प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो। 

ठक्कर दिने गाडी र त्यसका चालक काभ्रेकै महाभारत गाउँपालिका– ४ घर भएका ३१ वर्षीय पदम लामालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १०:५५
Weather Update