News Griha :: न्यूजगृह
सौर्य जहाज दुर्घटना: थप ६ जनाको शव परिवारलाई बुझाइँदै 

काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव शनिबार बिहान आफन्तलाई बुझाउने तयारी गरिएको छ।

एअरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराजसहित अन्य तीन जनाको शव बिहान १० बजेभित्र आफन्तलाई बुझाउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका छन्। कोपाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एकजनाको शव परिवारलाई बुझाएको प्रवक्ता कार्कीले बताए।

केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्ति लगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन्। सौर्य एअरलायन्सले मृतक परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बुधबार बिहान पोखराका लागि उडेको जहाज २० सेकेन्डमै त्रिभुवन विमानस्थल भित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। काठमाडौं मेडिकल कलेजमा पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०८:३७
Weather Update