News Griha :: न्यूजगृह
संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय
फाइल तस्बिर।

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सदन र सडकलाई जोड्दै संसद्मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताविमुख भएपछि पार्टीलाई जनतामा जान र नयाँ ढङ्गबाट सम्बन्ध स्थापित गर्ने बाटो खुलेको बताएका छन्। 

बैठकले सदन र सडकलाई प्रभावकारी ढङ्गले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार अध्यक्ष प्रचण्डले अब संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिकामा सशक्त भएर प्रस्तुत हुनुपर्ने र नयाँ तरिकाबाट जनतामा गएर सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए।

प्रवक्ता सापकोटाले पार्टी अध्यक्ष प्रचण्डले बैठकमा बोलेको उदृत गर्दै भने, 'भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा माओवादी केन्द्र नेतृत्वको सरकार सफल भएको छ। अब यही कुराहरूलाई लिएर जनतामा जाने र नयाँ तरिकाबाट सम्बन्ध विस्तार गर्ने भन्नेबारे छलफल भएको छ।'

अध्यक्ष प्रचण्डले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २०:२०
Weather Update