-1714474494.jpg)
काठमाडौं— अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) संचालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी छन् ।
गैरकानूनी रूपमा भीओआईपी संचालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने भुपेन्द्रको घरबाट उनीहरूलाई भीओआईपीमा प्रयोग गरिएका विभिन्न उपकरणहरूसहित पक्राउ गरेको हो।
उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भीओआईपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सिम कार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ।
उनीहरू उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।













