कक्षा १२ को नतिजा आगामी साता

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ। हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ। त्यही अनुसार काम भइरहेको छ।’
कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो। परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए।
बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन्।
देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १४:०८













