News Griha :: न्यूजगृह
 प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा.प्रकाशशरण महत तथा सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीश सहभागी थिए ।

भेटवार्तामा न्यायपालिकाकाले भोग्नुपरेको आर्थिक तथा जनशक्ति अभावलगायतका विषयमा कामु प्रधानन्यायाधीश कार्कीले विस्तृतरूपमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

‘भेटमा अदालतको बजेट, भौतिक पूर्वाधार, मर्यादाक्रम र न्यायाधीशको तलबका विषयमा विस्तृतरूपमा छलफल भएको थियो’, भेटघाटमा भएको विषयमा जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने,‘दिइरहेको बजेटमा पनि घटाउँदा न्यूनतम व्यवस्थापन, सञ्चालनमा समस्यामा परेको देखिएकाले न्यायपालिकाको स्वायत्तताका लागि सरकारले सहजीकरण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो ।’

कामु प्रधानन्यायाधीशसहित न्यायाधीशसँग बिहीबार उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री खड्काले भेट गरी न्यायालयलाई आवश्यक पर्ने सहयोग सरकारले गर्न विषयमा छलफल भएको थियो ।

प्रवक्ता पौडेलका अनुसार मन्त्री खड्काले कानुन मन्त्रालयले न्यायालयलाई गर्नुपर्ने सहयोगका विषयमा के–के गर्न सकिन्छ आफूले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:४९
Weather Update