News Griha :: न्यूजगृह
लोक गायक जोशीको निधन

काठमाडौं— लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो। 

पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए। साँझ खाना खाएपछि उनी अचानक बेहोस भएको परिवारले जनाएको छ। 

तत्कालै उपचारको अस्पताल लगिए पनि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका हुन्।

जोशीले २०१३ सालमा रेडिओ नेपालबाट ‘नेपाली माया, नेपालै कस्तो’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। त्यस्तै उनको ‘खिपीमा खिपी’, ‘रिटिङ रिटिङ’,  ‘ओल्लो खोलो’, ‘बाख्राको पाठोले’, ‘साँगुरीको डाँडैडाँडा’, ‘उकाली ज्यानमा’ लगायत चार दर्जन गीत चर्चित छन् । 

उनले ०१९, ०२२ र ०२९ सालको लोकगीत प्रतियोगितामा स्वर्ण पदकसमेत जितेका थिए। तत्कालीन समयमा सोभियत रुसको नौ वटा राज्यमा साङ्गीतिक कार्यक्रम गर्ने उनी एक मात्र नेपाली गायक हुन्। पछिल्लो समय उनले ०६० मा लोकगीत सङ्ग्रह ‘अनावृत’ प्रकाशन गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:१२
Weather Update