
काठमाडौं— साउन ९ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनिषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार प्रहरी नायब उपरीक्षक शुकदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो।
साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा काठमाडौंबाट पोखरा जान लागेको उक्त विमान उड्ने बित्तिकै खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो। मृत्यु हुने सौर्य एअरका कर्मचारी, इन्जिनियर तथा उनीहरूका आफन्त रहेका प्रहरीले जनाएको छ।













