
काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ।
स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्राडा मीना थापाले जानकारी दिइन्।
अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो। बिहीबार साँझ भने उनलाई क्याबिनमा सारिएको छ। क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले बताएको छ।
अस्पताल निर्देशक थापाका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ।
सौर्य एअरलाइन्सको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो।
जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्याइएको थियो।













