News Griha :: न्यूजगृह
नाउपा विवादः लुम्बिनीमा धर्मबहादुर चौधरी नै दलको नेता कायम 

बुटवल — नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक रेशम चौधरी पक्षले लुम्बिनी प्रदेशमा दलको नेता परिवर्तन गर्ने गरेको निर्णय प्रदेश सभाले अस्वीकृत गरिदिएको छ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पार्टीको बैठक र निर्णयमाथि नै आशङ्का व्यक्त गरेका छन्। उनले पार्टीको निर्णय अस्वभाविक देखिएको भन्दै दलको नेता फेर्ने सिफारिस फिर्ता गरिदिएका हुन।

साउन ७ गते नागरिक उन्मुक्तिका ३ प्रदेश सभा सदस्यको निर्णय भन्दै रेशम चौधरी पक्षले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका धर्मबहादुर चौधरीलाई संसदीय दलको नेताबाट हटाएर राजकुमार चौधरीलाई चयन गरिएको जानकारी प्रदेश सभामा गराएको थियो।

सभामुख घर्तीले बिहीबार उक्त सिफारिस वैधानिक नदेखिएको भन्दै धर्मबहादुर चौधरी नै दलको नेता रहेको पत्र रञ्जिता पक्षलाई दिएका हुन।

प्रदेश सभाले उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै छन्। दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारू प्रदेश सभा सदस्य रहेकी छन्।

संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक फेर्ने निर्णय गरेर प्रदेश सभा सदस्य राजकुमार चौधरीले आफूलाई संसदीय दलको नेता तोकेर निवेदन पेस गरेका थिए। सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा प्राप्त भएको निवेदन र निर्णयहरूलाई अध्ययन गर्दा शङ्कास्पद भएको भन्दै मान्यता नदिएको बताए।

‘निर्णय पुस्तिका पनि शङ्कास्पद छ। निवेदनमा पनि विधान अनुसारको दफाहरू कुनै तोकिएको छैन,’ सभामुख घर्तीले भने ,‘नयाँ पत्र पेस गर्न भनेर फिर्ता पठाएका छौँ।’

संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र गत ७ गते प्रदेश सभामा पेस गरिएको थियो।

बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको उल्लेख थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:४३
Weather Update