पहिरोमा परी रामेछापमा ३ जनाको मृत्यु

काठमाडौं— रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।
बिहीबार बेलुकी ८:४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए।
राति स्थानीय र प्रहरीले पन्छाएर शवहरू बाहिर निकालेका थिए। तर सदरमुकामसम्म पुग्ने बाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध भएकाले शवलाई पोष्टमार्टम गर्न मन्थलीसम्म पुर्याउन नसकिएको इन्स्पेक्टर न्यौपानेले बताए।
स्थानीयका अनुसार पहिरोले जोखिममा परेका चारवटा घरबाट स्थानीयको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ ०६:१८













