News Griha :: न्यूजगृह
प्रथम महिला मुख्यसचिवको प्रतिक्रिया– राम्रो कर्म गरे, राम्रै फल पाइन्छ 

काठमाडौं— नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई बिहीबार मुख्यसचिवमा नियुक्त गरेको छ।

मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव हुन्।

वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला २०५२ सालमा निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी हुन्। 

उनी २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव, २०७७ सालमा सचिवमा बढुवा भएकी हुन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुँदैछिन्। 

‘जस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामती सेवामा राम्रै कर्म गरेको परिणामका रूपमा यो जिम्मेवारी प्राप्त भएको राससलाई प्रतिक्रिया दिइन्।

उनले भनिन्, 'प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ। यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ। वर्तमान सरकारप्रति धन्यवाद छ।'

इमानदार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामती कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदै गएको धारणा व्यक्त गरिन्।

निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, 'त्यसमा केही पुगिन्छ, कोही पुगिन्न। केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ। भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ।'

राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मुख्यसचिव गड्तौलाले संसद्मा अड्किरहेको निजामती विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गरिन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २१:२९
Weather Update