
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा चालक (क्याप्टेन) मनिषरत्न शाक्य मात्रै बाँच्न सफल भएका छन्। जहाज दुर्घटनामा १८ जनाको ज्यान जाँदा ‘पाइलट इन कमान्ड’ शाक्यको भने सकुशल उद्धार गरिएको थियो।
विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको थियो। त्यसको करिब २ मिनेटपछि नै जहाजको अग्रभाग ठोकिएको स्थानमा पुगेर दमकलले पानी हाल्न थालिसकेको थियो।
२३ मिनेटमा चालक शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरेको समयमा उनी बोल्न सक्ने अवस्थामा थिए। त्यसपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।
अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा पनि उनी बोल्न सक्ने अवस्थामा नै थिए। उपचारमा खटिएका एक चिकित्सकका अनुसार शाक्यको अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ। उनको सीटी स्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको छ। आठौँ, नवौँ र दसौँ करङ भाँचिएको छ।
चिकित्सकका अनुसार शाक्यलाई सूक्ष्म निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ। हालको अवस्था हेर्दा उहाँ खतरामुक्त नै हुनुहुन्छ,’ ती चिकित्सकले भने।
जहाज चालक शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ काठमाडौं मेडिकल कलेज पुगेका थिए ।













