News Griha :: न्यूजगृह
सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोष्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने

काठमाडौं— बुधबार दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोष्टमार्टम बिहीबार जारी छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोष्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्।

एउटा शवलाई पोष्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घण्टा लाग्ने चिकित्सकले बताएका छन्।

सबैको पोष्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोष्टमार्टममा सहभागी चिकित्सकले बताएका छन्।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज रनवे छोडेको २० सेकेन्डमै दुर्घटना भएको थियो।

जसमा परेर मृत्यु भएका १८ जनाको पोष्टमार्टम भइरहेको हो। दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ। यस्तै जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०८:०६
Weather Update