
काठमाडौं— सरकारले सौर्य एअरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै छ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।
काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने जहाजका पाइलट मनिषरत्न शाक्यको उद्धार गरिएको थियो।
उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एअरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरू र उनीहरुका परिवारका सदस्य थिए ।
जहाज दुर्घटनामा मृत्यु हुनेमा कोपाइलट सुसान्त कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन्।
सरकारले जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल वायु सेवा निगमका क्याप्टेन दीपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एअरलाइन्सका कर्मचारी सञ्जय अधिकारी उक्त आयोगको सदस्य छन्।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डङ्गोल उक्त आयोगको सदस्य सचिव रहने बताइएको छ। सरकारले छानविनका लागि आयोगलाई ४५ दिनको समय दिएको छ।













