
काठमाडौं— सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा नेपाल एअरलाइन्सका क्याप्टेन दीपु ज्वारचन, श्री एअरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन्। समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एअरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज बिहान ११ः११ मा विमानस्थलमै दुर्घटना भएको हो। दुर्घटनामा १८ जनाको निधन भएको छ। पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।













