
काठमाडौं— निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाई समितिले थप छलफल गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बुधबार बसेको समितिको बैठकमा प्रधानबारे समितिले गोप्य बैठकमा छलफल गरेको थियो। तर उनको नियुक्तिबारे कुनै निर्णय गरेन।
प्रधानका विषयमा अर्को बैठकले निर्णय गर्ने समितिकी सदस्य समेत रहेकी एमाले सचेतक सुनिता बरालले जानकारी दिइन्। ‘आजको बैठकमा उहाँको कार्ययोजना सुन्यौँ। त्यसपछि सामान्य छलफल भयो। अब अर्को बैठकबाट निर्णय हुन्छ,’ उनले भनिन्।
बुधबारको बैठकमा प्रधानले कार्ययोजना प्रस्तुत गरेपछि पत्रकारहरूलाई समेत बैठककक्ष बाट बाहिर निकालिएको थियो। त्यसपछि गोप्य बैठकमा प्रधानमाथि लागेको यौन शोषणको आरोपका सम्बन्धमा छलफल भएको थियो।
प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत रहँदा सहकर्मीलाई यौन शोषण गरेको आरोप छ। पीडित महिला आफैँ समितिमा आएर प्रधानले गरेको शोषणबारे जानकारी दिएकी थिइन्। तर सो मुद्दा अदालतबाट कानुनी प्रक्रियामै टुङ्गिसकेको छ।