
काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोष्टमार्टमको तयारी सुरु भएको छ। पोष्टमार्टमका लागि मृतक सबैको शव त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ भने अहिले आवश्यक कागजपत्र मिलाउने काम भइरहेको छ।
नेपाल प्रहरीको महाराजगञ्ज वृत्तका डीएसपी अमर थापाले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शवको मुचुल्का भइरहेको बताए। ‘पोष्टमार्टम गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया अघि बढाइएको छ। मुचुल्का भइरहेको छ, यो कागजी कामहरू सकिने बित्तिकै पोष्टमार्टम सुरु हुन्छ,’ डीएसपी थापाले भने।
अस्पतालका निर्देशक डा दिनेश काफ्लेका अनुसार पोष्टमार्टमका लागि अस्पतालको जनशक्ति तयारी अवस्थामा रहेको छ। ‘पोष्टमार्टमका लागि सबै चिकित्सकहरू तयारी अवस्थामा छौँ। कागजपत्र मिलाउने काम भइरहेको छ,’ निर्देशक काफ्लेले भने, ‘पोष्टमार्टमका लागि प्रहरीबाट मुचुल्का आउनु पर्छ । आफन्तहरू पनि आउनुपर्छ । त्यसपश्चात् पोष्टमार्टम सुरु गर्छौँ।’
जलेर मृत्यु भएका कारण शवहरूको पोष्टमार्टम दिनमा मात्रै गर्न सकिने उनले बताए। ‘शव चिनिने अवस्था छैन। हामीले दाँत हेरेर पहिचान गर्नुपर्छ। नभए सबैको डीएनए नै परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज विमानस्थल परिसरमै दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ भने विमान चालकको उद्धार गरी उपचार भइरहेको छ।













