News Griha :: न्यूजगृह
सौर्य एअरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री लेखक

काठमाडौं— गृहमन्त्री रमेश लेखकले सौर्य एअरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन्।

बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताए।

उनले दुर्घटनालगत्तै सरकारको दायित्व पूरा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धारको कार्य गरेको भन्दै प्रशंसा गरे।

‘यो दुर्घटना हो। जे भयो, दुखद भएको छ। जहाजमा रहेका १९ जनामध्ये १८ जनाको निधन भएको छ, मृतक सबै सौर्य एअरलाइन्ससँगै आवद्धहरू भएको कुरा आएको छ,’ गृहमन्त्री लेखकले भने, ‘दुर्घटनापछि तत्कालै गर्नुपर्ने उद्धारको काम सरकारले पूरा गरेको छ। अब के कारणले यस्तो दुर्घटना भयो? भन्नेबारे छानबिन गर्छ।’

उनले छानबिनबाट प्राप्त तथ्यहरूले नै जहाज दुर्घटनाको पछिका अन्य कुराहरू खुलाउने बताए।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:०४
Weather Update