
काठमाडौं — सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्।
गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओली दिउँसो साढे १ बजेपछि विमानस्थल पुगेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्।
मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान बुधबार बिहान ११:११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो।
विमानमा चालक दलका २ सदस्यसहित १९ जना सवार थिए।
क्याप्टेन मनिषरत्न शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
मृतक अधिकांश सौर्य एअरलाइन्सकै हुन्।













