
कैलाली— टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्।
केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे। उनको शरीरमा घाउ लागेको छ। यद्यपि उनी खतरामुक्त छन्।
चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ। चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन।
‘राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए,’ टीकापुर–७ का शिवम् चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ। खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ।’
गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सब डिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताए। ‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ,’ उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ।’
यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए।
पारिबाट हात्ती, बाघ र चितुवा आँउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ। वडा नं ८ मा चितुवामात्र होइन हात्तीलेसमेत त्यत्तिकै सताउने गरेका छन्। हात्ती नियन्त्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए। बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ।
सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सब डिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए।
‘केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ,’ उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ।’
डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए।













