News Griha :: न्यूजगृह
६ वटै उद्योगमा लाइन जोडियो

काठमाडौं— नेपाल विद्युत प्राधिकरणले काटेका ६ वटै उद्योगमा लाइन जडान गरेको छ। मङ्गलबार साँझ ९ बजेअघि सबै उद्योगमा लाइन जडान गरिएको उर्जा मन्त्रालय स्रोतले बतायो। 

प्राधिकरणले लाइन जडान गरी उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई जानकारी दिइसकेको छ। मङ्गलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो।

प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।

सोसँगै यही साउन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक घिसिङलाई तत्काल काटिएका उद्योगको बिजुली जोड्न निर्देशन दिएका थिए।

आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई उद्योगको लाइन जोड्न पत्र पठाएको थियो।

उद्योगी र प्राधिकरणबीच लामो समयदेखि डेडिकेटेड र ट्रङ्क लाइन बाट बिजुली उपभोग गरेको शुल्कबारे विवाद हुँदै आएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:५६
Weather Update