
काठमाडौं— नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाका लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका हुन्। बहादुरसिंह कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका हुन्। उनी नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्यसमेत हुन्।
सानैदेखि अब्बल र हक्की स्वभावका लामा २०४३ मा नेविसङ्घको शङ्करदेव क्याम्पस इकाई सभापति र २०४५ सालमा नेविसङ्घको क्षेत्रीय सभापति भए। त्यसपछि लामा नेपाली कांग्रेस नुवाकोटका जिल्ला उपसभापति भए।
निरन्तर राजनीतिमा सक्रिय रही जनतामाझ लोकप्रिय लामा २०५४ सालको स्थानीय निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविसको अध्यक्षमा निर्वाचित भए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट उनी पराजित भए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गर्दै निर्वाचित भए।
२०७४ सालमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएका लामा २०७९ सालमा भने प्रदेश तर्फ लागे। र नुवाकोटबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए।
कांग्रेस संसदीय दलका नेता लामा यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए।
ठेक्कापट्टामा सक्रिय लामा तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री हुन्।
बागमतीमा पहिलो पटक कांग्रेसलाई नेतृत्व
संघीय संरचना बमोजिम प्रदेश सरकार बन्न थालेको सात वर्षपछि नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व पहिलो पटक लिएको हो।
२०७४ मा एमाले नेता डोरमणि पौडेल पहिलो मुख्यमन्त्री बनेका थिए। त्यसपछि एमालेकै अष्टलक्ष्मी शाक्य, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बने।
गत असार १७ मा कांग्रेस र एमालेले सत्ता समीकरण गर्ने निर्णय गर्दासम्म माओवादी नेता जम्कट्टेल नै मुख्यमन्त्री थिए।