
काठमाडौं— निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ।
संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ।
गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो।
प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो। सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना तय गरेको थियो।
तर, असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो। रोकिएको सुनुवाइ भोलि बुधबार हुन लागेको हो।
प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल चलेको छ। उनको सुनुवाइ हुने वा नहुने अझै टुंगो नलागेको नेताहरु बताउँछन्।
सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो। सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो।













