News Griha :: न्यूजगृह
 कोशीका पूर्वमुख्यमन्त्री कार्कीले दिए सचिवलाई शौचालयमा थुनेर कुट्ने धम्की
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की।

विराटनगर— कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुनेर कुट्ने धम्की दिएका छन्।

प्रदेश सचिव भट्टराईले टेलिफोनबाट शौचालयमा थुनेर कुट्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

नेपाली कांग्रेसका नेता एवं निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने धम्की दिएको सचिव भट्टराईले बताए। भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएका छन्।

सोमबार ४ बजेर ५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उजुरीमा उल्लेख गरेका छन्। भुक्तानीको विषयलाई लिएर फोनमार्फत पूर्वमुख्यमन्त्री कार्कीले ‘कुट्छु, शौचालयमा थुन्छु’ लगायतको धम्की दिएका हुन्।

सचिव भट्टराईलाई पूर्वमुख्यमन्त्री कार्कीले विभिन्न गोल्डकपहरूलाई रकम निकासा गर्न दबाब दिए पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले भुक्तानीको लागि सहमति दिएको छैन। त्यही जानकारी कार्कीलाई गराउँदा कार्कीले कुट्ने धम्की दिएका हुन्।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नाविरुद्ध गलत प्रचार गरेका कारण सम्झाएको प्रतिक्रिया सम्बन्धित निकायमा दिएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:५४
Weather Update