
काठमाडौं— गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।
सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार भएको रायको हत्याबारे प्रतिनिधिसभामा प्रश्न उठेपछि मङ्गलबार गृहमन्त्री लेखकले जवाफ दिएका थिए। उनले घटना हुनुअघि घरमा आएका तीन जना शङ्कास्पद व्यक्तिहरूको खोजी भइरहेको बताए।
‘उहाँको टाउकोको बायाँ पट्टीको भागमा धारिलो हतियार प्रहार भएको छ,’ उनले भने, ‘घरमा काम गर्ने सर्लाहीका २१ वर्षीय राम उजैन रायलाई घटनाबारे सोध्दा तत्काल परिचय नखुलेको ४०–४५ उमेरका तीन जना व्यक्तिहरू आएको र जग्गाको कुरा कहिले मिलाइदिने भनेको भनेका छन्।’
त्यसपछि रामचन्द्रले आफूलाई ‘सुत्न जा’ भनेको उनले प्रहरीसँग बताएका छन्। ती व्यक्तिहरू राति १ बजेतिर आएको गृहमन्त्री लेखकले भनेका छन्। राम उजैनले आफू राति शौचालय जान फर्किएर आउँदा पूर्वराज्यमन्त्री रायलाई मृत अवस्थामा देखेको भनेका छन्।
‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा राखिएको छ,’ उनले भने, ‘तीन जना फरारको खोजतलास जारी छ।’ घटनास्थलदेखि करिब २०–२५ मिटरको दूरीमा रहेको बाँसको झ्यांगमा हत्यामा प्रयोग भएको हतियार पनि फेला परेको लेखकले भनेका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ।













