
काठमाडौं— नेपाल र अस्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवर्द्धनका लागि साझेदारिताबारे बिहीबार छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाल र अस्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेस भइसकेको छ ।
अस्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘सरकारले वायुसेवा निगमलाई अस्ट्रेलिया उडानका लागि आधिकारिक एअरलाइन्स तोकेको छ,’ उनले भने, ‘अस्ट्रेलियामा हवाई उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।’
सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ ।













