News Griha :: न्यूजगृह
गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसद्मा जानकारी

काठमाडौं— गृहमन्त्री रमेश लेखकले  विपदका घटनाको प्रतिनिधि सभामा जानकारी दिएका छन्। 

संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु  भएको  १४४ जना घाइते भएको जानकारी दिएका छन्।  

त्यस्तै ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी  भएको उनले बताए। यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले संसद्मा बताए।

प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र  विपद्पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था छ।  ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको अवस्था छ।  प्रभावितहरूलाई आवश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा  मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको छ।

त्यस्तै उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको छ। घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए।

उनले भने, 'घाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ। ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ। असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। १९ जनाको पहिचान भइ आफन्तले शव बुझि लगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन। बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ। खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ।'

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १५:१६
Weather Update