News Griha :: न्यूजगृह
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेस

हेटौँडा— बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेस गरेका छन्।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए।

मंगलबार नै साँझ  पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन्।

बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ।

कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको कांगेस नेता लामाले जानकारी दिए।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमालेसँग ६४ सांसद छन्। प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:३१
Weather Update