
हेटौँडा— बागमती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले मुख्यमन्त्रीमा आज दाबी पेस गर्ने भएका छन्।
प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले नेकपा एमालेको समर्थनमा बिहान ११ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।
१ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद हुन्छन्। लम्सालका अनुसार मन्त्रालय बाँडफाँट पनि लगभग टुङ्गिएको छ।
१३ मन्त्रालयमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने समझदारी भएको छ। अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्। कांग्रेस प्रमुख सचेतक लम्सालका अनुसार लामा आजै मुख्यमन्त्री नियुक्त हुनेछन्।
उनको शपथग्रहण भोलि हुने र सकेसम्म सबै १३ वटै मन्त्रालयका मन्त्रीले एकै पटक शपथ ग्रहण गर्ने गरी तयारी गरिएको लम्सालले बताए।
यसैबीच, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको शपथ ग्रहण कार्यक्रम भोलिका लागि राखिएको छ।
उनको शपथग्रहण भोलि बिहान ११ बजे राखिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। केन्द्रको निर्देशनमा एमाले संसदीय दलका नेता लिला गिरीलाई रोक्दै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमाले र नेपाली कांग्रेसका ५६ सांसद छन्।