
काठमाडौं— उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा मुकुल ढकालले मुख खोलेका छन्। दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनदेन गरेको आरोपसमेत लगाएका छन्।ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका सङ्गठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए।
पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन्। रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दाबी छ।
गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको उनले बताए।ढकालले यस घटनामा आर्थिक लेनदेन भएको बताएका छन्। उपसधामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दाबी छ।
उनले लेखेका छन्, ‘...९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्। पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि उनीसँग सुरक्षित छ।’
यो विषय आफूले अहिलेसम्म गुपचुप राख्नुको कारण भने ढकालले खोलेका छैनन्।