
काठमाडौं— काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ। वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ। जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा८५.६लिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास पनि भारी वर्षा भएको छ।
पछिल्लो ६ घण्टामा नैकापमा ५४, सुन्दरीजलमा ५२.८, कपनमा ५२.२, बबरमहलमा ५१ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै काठमाडौंकै पानीपोखरी वर्षामापन केन्द्रमा ३०.८ मिलिमिटर वर्षा भएको रेकर्ड छ।
त्यसैले विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबीखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेलाई र सो क्षेत्र भएर यात्रा गर्नेलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको छ।
विभागका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ। पछिल्लो ६ घण्टामा गोदावरीमा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ। ललितपुरकै लेलेमा ३५.४ मिलिमिटर वर्षा भएको छ।
तर काठमाडौं उपत्यकाकै भक्तपुर क्षेत्रमा भने मध्यम खालको मात्र वर्षा भएको छ।













