
काठमाडौं— लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो।
यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबी पेस गरेका थिए। अर्घाखाँची–१ (१) बाट प्रदेशसभा सांसद जितेका आचार्य प्रदेश संसदीय दलको उपनेता मात्र रहेकाले उनको नियुक्ति आश्चार्यको विषय बनेको हो।
सोमबार बिहानसम्म मुख्यमन्त्रीमा संसदीय दलको नेता लीला गिरीको दाबी पेस गर्ने तयारी थियो। तर दाबी पेस गर्न दिइएको समय सीमा घर्किन केही घण्टा बाँकी रहँदा गिरीलाई पार्टी नेतृत्वकै फोन आयो। पार्टी केन्द्रले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि गिरीको नाम हटाएर दाबी पेस गरियो।
यसरी संसदीय दलको उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय हुनुमा आचार्यसँग पार्टी महासचिव शङ्कर पोखरेलको सम्बन्ध जोडेर हेरिएको छ। लुम्बिनीको एमाले राजनीतिमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलबीच चर्को अन्तरसङ्घर्ष चल्दै आएको छ।
र दलको नेता भएर पनि मुख्यमन्त्री बन्न नपाउने गिरी पौडेल निकट नेता हुन्। प्रदेश संसदीय दलको नेता गिरी र उपनेता आचार्य हुनुमा पनि आन्तरिक शक्ति सङ्घर्षको सन्तुलन पनि थियो। गिरी यसअघि छोटो समय मुख्यमन्त्री हुन पाउँदा आचार्य तीन पटक मन्त्री बनिसकेका थिए।
महासचिव पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाउन सक्दा आचार्यले मुख्यमन्त्रीमै बाजी मार्न सफल भए।
एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थनमा आचार्य मुख्यमन्त्री बनेका छन्।