
काठमाडौं— उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन्।
शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका छन्।
'यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो । जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ,' उनले भने, '३ तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यो भन्ने मलाई लाग्छ।'
सङ्घ, प्रदेश र स्थानीय ३ तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिलअवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए।
अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन उद्देश्य ले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो। नेता सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए।