
काठमाडौं— आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ। यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन्। हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ।

गेरु वस्त्रधारी बोलबम यात्रीहरूको पनि शिवालयमा उल्लेख्य सङ्ख्या हुन्छ। बोलबम यात्रीहरूले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन्।
सोमबारलाई शिवको बार मानिन्छ। किनभने शिवको शिरमा चन्द्रमा छन् र ग्रह नक्षत्रअनुसार चन्द्रमाको बार सोमबार हो।


सबै तस्बिर: रासस













