
काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच सवाल जवाफ (प्रश्नोत्तर) हुँदैछ।
सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री र सांसदबीच संसद्मा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरे पनि नियमित रुपमा त्यसको अभ्यास हुने गरेको छैन।
गएको असार ३० गते संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार मात्रै प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।
आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीसमेत छ।