
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्टबाज’ भनेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन्। आफूहरूले गरिरहेको स्टन्ट साहस र आँट भएको उनको दाबी छ।
आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले नयाँ दललाई स्टन्टबाज भनिएकोमा आपत्ति जनाएका हुन्।
ओलीले सम्बोधनका क्रममा व्यापारीलाई पहिला थुन्ने र सुन्ने ‘स्टन्ट’ गरेको भन्दै यसअघिको सरकारको आलोचना गरेका थिए। साथै उनले सरकारले सुशासनको नाममा ‘स्टन्ट’ भन्दा पनि सही इन्टेन्सन राखेर काम गर्ने बताएका थिए।
लोकतन्त्रको परिभाषाका क्रममा ओलीले स्वतन्त्रताको लागि लडेका अफ्रिकाका नेता नेल्सन मण्डेलाको नाम लिएका थिए। ओलीको त्यो भनाइ कोट्याउँदै लामिछानेले नेल्सन मण्डेलाको हाइट भएको नेता नेपालमा नभएको टिप्पणी गरे।
लामिछानेले दागी मन्त्रीलाई सरकारमा सहभागी गराएकोले ओलीलाई विश्वासको मत नदिने बताए ।