
काठमाडौं— बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्।
आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्। यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो।
प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए।
माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।
बागमतीमा अब कांग्रेस–एमाले गठबन्धन सरकार बन्नेछ। कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन्। सरकार गठनका लागि दाबी पेस गर्न कांग्रेस र एमालेका सांसदको हस्ताक्षर संकलन गरिएको छ।