
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन्।
प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए।
'सिङ्गो देश चरम निराशामा छ। २०४६ सालपछि चरम निराशा पुग्यो। अर्थतन्त्र डामाडोल छ। १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको छु प्रधानमन्त्री ओलीले भने।
उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको बताए।
'ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ। सरकार स्टन्टबाज भयो। सरकार थुन्ने अनि सुन्ने काम भयो भन्ने कुरा लिएर व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन। व्यवसायीहरू मरीच झैँ चाउरिएका छन्,' प्रधानमन्त्री ओलीले भने, 'त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लगेको हो।'