
काठमाडौं— अदालतको आदेशपछि सुरु भएको काठमाडौं न्युरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन्।
यसअघि शुक्रबार महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला स्थानीयले विरोध गरेर काममा अवरोध गरेकोमा आइतबार महानगरका ३२ वटै वडाका वडाध्यक्षहरूले ऐक्यवद्धता जनाएका छन्।
त्यस्तै कामनपा–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले सडकमै टेबुल कुर्सी राखेर काम गरिरहेका छन्।
३२ वटै वडाध्यक्षसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्युरोड क्षेत्रबाट फर्किएको छ।
स्थानीय सहितका वडाध्यक्षहरूले न्युरोडको सडक साँघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन्।
यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको हो। त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरेपछि रोकिएको थियो।
सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो। जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेको थियो।
यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो। डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।













