News Griha :: न्यूजगृह
उपसभामुखको बचाउमा रास्वपा, भन्यो– आर्थिक लेनदेन भएको तथ्यगत आधार देखिँदैन

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकिर गरेको छ।

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।

रास्वपाबाट उपसभामुख बनेकी उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन्।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजाने गरी दूतावासमा पठाएको पत्र हालै सार्वजनिक भएको थियो।

‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:३५
Weather Update