News Griha :: न्यूजगृह
अहिले ६ प्रदेशमा वर्षा हुँदै, आइतबार दिउँसो र राति कताकता पर्छ पानी?

काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

आइतबार बिहान देशभरको मौसम साधारणतया बदलीको अवस्थामा छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:०४
Weather Update