News Griha :: न्यूजगृह
सोमबारपछि वर्षा बढ्ने, यस्तो छ मौसम पूर्वानुमान
बागमती नदीमा शनिबार आएको बाढी। तस्बिर: रासस

काठमाडौं— देशका केही स्थानमा शनिबार पनि वर्षा भएको छ। हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार र शनिबार दिउँसोको तुलनामा शनिबार राति बढी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। ‘राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ उनले भने। 

शनिबार बेलुका काठमाडौंमा पनि वर्षा भएको छ। काठमाडौंका विशेष गरी कपन, सुन्दरीजल क्षेत्रमा धेरै वर्षा भएको उनले बताए। ‘शनिबार राति काठमाडौंमा पनि वर्षाको सम्भावना छ,’ उनले भने, ‘मध्यरातको आसपासमा मध्यमसम्म वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना छैन।’

अबका दुईतीन दिन सुदूरपश्चिम प्रदेशलगायत क्षेत्रमा हिजोआजको तुलनामा वर्षा बढ्ने सम्भावना रहेको उनले जानकारी दिए। देशका अरू केही स्थानसँगै काठमाडौं उपत्यकामा आइतबारसमेत वर्षाको सम्भावना रहेको उनले बताए। हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनले जानकारी दिए।

‘दिउँसो र राति पनि सम्भावना छ। काठमाडौंको उपत्यकाका सबै स्थानमा वर्षा नहुन सक्छ,’ उनले भने, ‘वर्षा हुने स्थानमा पनि सबै ठाउँमा एकनासको हुँदैन। कतै अलि धेरै, कतै थोरै हुने हुन्छ।’

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भारततिर रहेको उनले बताए। अबका तीन दिन (सोमबारसम्म) मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सर्ने सम्भावना नरहेको उनले जानकारी दिए।
‘आगामी तीन दिन मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालनजिक आउने सम्भावना छैन,’ उनले भने।

तीन दिनपछि भने उक्त रेखा सरदर स्थानको आसपासमा आउने सम्भावना छ। तर, महाशाखाले त्यसबारे आधिकारिक रूपमा जानकारी गराएको छैन। महाशाखाले दैनिक तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आएको मौसमविद् अधिकारीले स्पष्ट पारे।

‘अहिले हामीले हेर्दा तीन दिनपछि त्यो सरदरको स्थानमा आउने सम्भावना देखिन्छ,’ उनले भने, ‘त्यसो भएको अवस्थामा वर्षाको मात्रा बढ्ने हुन्छ।’

न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपाल नजिक नहुनु भनेको मनसुनको सक्रियता कम हुनु हो। तर, मनसुन अवधिमा वर्षा नहुने भन्ने होइन। न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपाल नजिक हुँदा भने वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताउँदै आएका छन्। त्यस्तो अवस्थामा मनसुन अधिक सक्रिय हुने मौसमविद्को भनाइ छ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २१:१५
Weather Update