
काठमाडौं— लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्।
आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिए।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार मुख्यमन्त्री महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
माओवादी संसदीय दलका नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
अहिले मुख्यमन्त्री महरालाई माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक गरी १२ जना प्रदेशसभाको समर्थन छ।