News Griha :: न्यूजगृह
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली
फाइल तस्बिर।

काठमाडौं— अघिल्नो शुक्रबार चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि भारतबाट १२ जनाको टोली नेपाल आएको छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै शुक्रबार राति १२ बजे ४ वटा गाडीसहित भारतको राष्ट्रिय विपद प्रतिकार्य फोर्स विज्ञसहितको टोली नेपाल आएको हो।

टोलीले उद्वारमा चाहिने उपकरण समेत ल्याएको छ।  गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतीय टोली नेपाल आएको हो। 

खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन्।

सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ। अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ। दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए। अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन। 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १०:०५
Weather Update