News Griha :: न्यूजगृह
वर्षाले सडक बन्द भएपछि सुनसान बने बागलुङका होमस्टे

बागलुङ— वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै होमस्टेमा पाहुनाको आगमन नहुँदा सुनसान बनेका हुन्। 

हिउँदको समयमा बढी चहलपहल हुने होमस्टेमा यति बेला पाहुनाको सङ्ख्या शून्य छ। जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे बढी सञ्चालनमा छन्। अधिकांश होमस्टेमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन्। वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन्।

अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुन होमस्टेमा पुग्न चाहँदैनन्। वर्षाले सडक तथा पदमार्ग हिलाम्मे बन्दा होमस्टेसँगै पर्यटकीयस्थल सुनसान भएका बागलुङ नगरपालिका–१० भकुण्डेका अतिथी सत्कार होमस्टे सञ्चालक यामबहादुर थापा मगरले बताए। 

जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको मगरले बताए। हिउँदमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको सङ्ख्यामा पाहुन भकुण्डे पुग्ने गरेका थापाले जानकारी दिए। 

'बर्खामा गाउँसम्म पुग्ने बाटो ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ। करिब दुईतीन महिना यहाँका होमस्टे र पर्यटकीय क्षेत्र खाली हुन्छन्। पदमार्ग र पूर्वाधारको अवस्थाका कारण असार लागेपछि पाहुनाको सङ्ख्या शून्य भएको हो,' उनले भने। 

काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक होमस्टेमा पनि असार लागेपछि पाहुना पुग्न छोडेका छन्। बागलुङ बजारबाट पश्चिममा पर्ने यो होमस्टेमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुना आउने गरेकामा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक होमस्टेकी सचिव माया घर्ती पुनले बताए। असोज लागेपछि मात्रै पर्यटकको आगमन बढ्ने उनले उल्लेख गरे। 

वर्षाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडी सञ्चालन हुन नसकेको घर्तीले बताए। पर्यटक आउन छोडेपछि अधिकांश अहिले आलु खन्ने, कोदो रोप्ने र पशुपालनमा व्यस्त रहेका छन्। 

'यो ‘अफसिजन’ भयो, सडकको अवस्था गतिलो छैन, बजारबाट आउँदा पनि धेरै ठाउँमा गाडी अड्कने, ठाउँठाउँमा फस्ने हुँदा यहाँ आउन चाहने पनि बीच बाटोबाटै फर्किनु हुन्छ, राज्यले कम्तिमा गाउँमा आउने सडकस्तरीय बनाइदिए बाह्रै महिना पाहुना भित्र्याउन सक्थ्यौँ,' उनले भनेे, 'अब आउन दसैँतिहारको बेला पाहुना आउनुहुन्छ।'

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १८:३०
Weather Update